जुर्मुराउँदै बेलायतका नेपाली नर्सहरु

nepalesenursingassociationuk

जुर्मुराउँदै बेलायतका नेपाली नर्सहरु

लण्डन । नेपाली नर्सिङ एसोसिएसनले बेलायतमा कार्यरत नेपाली नर्सहरु र नेपाली समाजलाई लाभ पुग्ने विभिन्न कार्यक्रमहरु ल्याएको छ ।

एसोसिएनका अध्यक्ष सुनिता थापा गौतमका अनुसार एसोसिएसनले नेपलिज डक्टर्स एसोसिएसन युकेसित मिलेर यही अप्रिल ३० तारिखमा प्लमस्टिड, लण्डनमा स्वास्थ्य चेतना तथा परामर्श शिविर सञ्चालन गर्दैछ । रोयल ग्रीनिच नेपाली कम्युनिटीसितको सहकार्यमा प्लमस्टिड सेन्टरमा दिउँसो १२ बजेदेखि ४ बजेसम्म हुने सो शिविरमा वरिष्ठ चिकित्सकहरु र नर्सहरुसित सर्वसाधारणले स्वास्थ्य जाँच तथा परामर्श लिने अवसर पाउनेछन् ।

सो कार्यक्रममा मधुमेह, कोरोनाको समस्या, दाँतको हेरचाह, मानसिक स्वास्थ्य, मस्तिष्कघात, महिला स्वास्थ्य, एनएचएसको सेवा कसरी लिने, उच्च रक्तचाप, मुटुको समस्या लगायतका बारेमा चिकित्सक र नर्सहरुले जानकारी दिनेछन् । साथै नर्सहरुले रक्तचाप, ग्लुकोजको तह जाँच्ने छन् । सो शिविरमा एसोसिएसनकी अध्यक्ष गौतमका साथ सचिव बिनु लामिछाने, विमला शर्मा, रेखा सिटौला, सुनिता विष्ट भट्ट, सुशीला गैरे, अनिता खरेल, झरना अर्याल, ज्ञानु अधिकारी, राजेन्द्र पुडासैनी लगायतका नर्सहरु सहभागी हुने छन् ।

यस्तै, एसोसिएनले कोरोना महामारीपछि तनाव ब्यवस्थापनका लागि हरेक शनिबार योग शिविरको आयोजना गर्न शुरु गरेको छ । गत शनिबार २३ अप्रिलदेखि शुरु भएको सो शिविर एक वर्षसम्म चल्ने अध्यक्ष गौतमले जानकारी दिनुभयो । बिहान ८ बजेदेखि ९ बजेसम्म भर्चुअल (जुम)बाट चल्ने सो योग शिविरमा सर्वसाधारणले पनि निशुल्क भाग लिन पाउने बताइएको छ । यसमा सहभागी हुन चाहनेहरुका लागि जुमको आइडी 482 820 1879 र पासवर्ड NNAUK22 रहेको छ । नेपालका पूर्व राष्ट्रिय बक्सिङ खेलाडीसमेत रहेका पुष्करराज पन्तले योगको कक्षा दिने छन् ।

यसैगरी, एसोसिएसनले आउने शनिबार (अप्रिल ३० तारिखदेखि) नेपाली नृत्य कक्षा पनि हरेक शनिबार बेलुका सञ्चालन गर्ने भएको छ । सो कक्षा करिब ६ हप्तासम्म सञ्चालन हुने बताइएको छ ।
योगा र नृत्यका कक्षाहरु नेपलिज नर्सिङ एसोसिएनको फेसबुक पेजबाट लाइभ प्रसारण पनि गरिने छ ।

एसोसिएसनले हालै स्कटल्याण्डमा रहेका नेपाली नर्सहरुलाई संगठित गरी नर्सिङ एसोसिएन गठन गरेको छ भने अब चाँडै नै उत्तरी आयरल्याण्ड र वेल्समा पनि नेपाली नर्सहरुलाई संगठिन गरिने अध्यक्ष गौतमले जानकारी दिनुभयो । यसैगरी, डेन्टल नर्सहलाई पनि सङ्गठित गर्नका लागि विशेष कार्यक्रम ल्याइने उहाँले थप्नुभयो । त्यस्तै संस्थाको सदस्यता लिनेहरुका लागि मे १२ देखि ६ महिनाका लागि सदस्यता शुल्कमा आधा छुट दिइने पनि उहाँले बताउनुभयो । अहिले एसोसिएसनको सदस्यता शुल्क ९९ पाउण्ड रहेको छ । Click Here for Membership Details

एसोसिएसनले संस्थाका कार्यलाई अझै प्रभावकारी बनाउनका लागि विभिन्न सदस्यहरुलाई विभिन्न कामको संयोजन गर्ने जिम्मा दिएको छ । जसमा युकेमा रजिष्टर हुन चाहने नर्सहरुलाई जानकारी दिन अञ्जना खतिवडालाई संयोजक तोकिएको छ भने कोष संकलनमा राजेन्द्र पुडासैनी संयोजक, रविन्द्र कँडेल र श्रीजा डंगोल सदस्य रहेका छन् । सदस्यता विस्तारमा शिलु आचार्य संयोजक, सदस्यहरुमा धनमाया महर्जन र पार्वता कुँवर रहेका छन् भने वेलफेयर कोअर्डिनेटरमा ईन्दिरा बस्याल तोकिएका छन् ।

युकेमा कार्यरत नेपाली नर्सहरुको अनुभव समेटिएको सामग्री प्रकाशनका लागि श्रीजा डंगोल संयोजक, राजेन्द्र पुडासैनी, गंगा साम्पाङ र पार्वता कुँवर सदस्य तोकिएका छन् । अन्तर्राष्ट्रिय नर्सेज ग्रुपको संयोजकमा रस्मिता दर्लामी रहेकी छिन् । मिडिया र पर्सनल डेभलपमेण्टमा चित्रा सञ्जेल संयोजक, वेलविइङमा अध्यक्ष सुनिता गौतम संयोजक तोकिएका छन् ।

एसोसिएनले जुन महिनामा च्यारिटी डिनर पनि आयोजना गर्न लागेको छ ।

अध्यक्ष गौतमले नेपालबाट आएका नर्सहरुलाई एकतावद्ध गर्दै बलियो संस्था बनाउनका लागि एसोसिएनले विभिन्न कार्यक्रमहरु शुरु गरेको र सदस्यहरुलाई जिम्मेवारी बाँडफाँड गरिएको बताउनुभयो ।


[RM_Form id=’4′]